दार्चुला : भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
बाँधका ढोकाहरु खोलिएपछि महाकाली नदीको जलस्तर बढेको छ। मंगलबार बिहान करिब साढे ६ बजेदेखि महाकालीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ।
यसअघि आइतबार भारतीय कम्पनी एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै सिल्ट सफाई कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जानकारी गराएको थियो। परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जनाएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij