२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

महाकालीमा पक्की पुल बन्यो तर स्थानीयवासीको समस्या उस्तै

महाकालीमा पक्की पुल बन्यो तर स्थानीयवासीको समस्या उस्तै

कञ्चनपुर– महेन्द्रनगरस्थित महाकाली नदीमा ४ लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित संघर्ष गर्नुपरेको छ।

महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुंगे पुलबाट दुईपांग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो। पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ।

दोधारा चाँदनीतर्फको ३ हजार ५ सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन।

०२२ सालदेखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राज थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए।

‘दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानीन्छ तर यहाँ सिँचाइ सुविधा छैन,’ उनले भने, ‘नेताहरू चुनावमा मात्रै हामी गर्छौं भन्नुहुन्छ त्यसपछि वास्ता गर्नुहुन्न।’

यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उनको भनाइ छ।

यहाँ हरेक वर्ष बाढीले क्षति पुर्‍याउने ०२४ सालदेखि कुतियाकवरमा बस्दै आएकी मायादेवी सुनारले बताइन्।

‘तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ उनले भनिन्,’ यहाँ डुबान र कटान धेरै हुन्छ बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइसरी गइसके।’

गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताइन्।

४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन्।

दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको स्थानीय वसन्ती साउदले जानकारी दिइन्।

‘हिउँदमा सिँचाइ अभाव हुन्छ बर्सातमा बाढीको त्रास,’ उनले भनिन्, ‘बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ।’

दोधारा चाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ। बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेक सुनारले बताए।

‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ,’ सुनारले भने, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij