२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

डा सन्दुक रुइतलाई ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

डा सन्दुक रुइतलाई ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

काठमाडौं– ब्रिटेनको प्रतिष्ठित एंग्लिया रस्किन विश्वविद्यालयले चर्चित नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान गरेको छ।

आउँदो साता आयोजना गरिन लागेको एक समारोहमा डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागिएको हो। उक्त सम्मान ग्रहण गर्न डा रुइत शनिबार बेलायत प्रस्थान गर्दैछन्।

आइतबार लन्डनस्थित नेपाली दूताबासमा नेप्लिज डक्टर्स एसोसियसन युकेले एक च्यारिटी कार्यक्रम राखेको छ। नेप्लिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा कमल अर्यालले भने, ‘उक्त कर्यक्रमबाट उठेको सहयोग रकम हामीले डा रुइतले स्थापना गर्नुभएको च्यारिटीलाई हस्तान्तरण गर्ने छौं।’

डा अर्यालले डा रुइतलाई बेलायती विश्वविद्यालयले विद्यावारिधी प्रदान गर्नुले सबै नेपाली चिकित्सकको सम्मान भएको बताए। ‘एउटा ब्रिटिश विश्वविद्यालयले डा रुइतलाई सम्मान गर्नु उहाँको कामको मात्रै हैन, सम्पूर्ण नेपाली चिकित्सकहरुको सम्मान हो। उहाँको योगदानको विश्वव्यापी कदर हुँदै गर्दा हामी अत्यन्तै खुसी छौँ,’ डा अर्यालले भने।

यसअघि बहराइनले डा रुइतलाई झन्डै १३ करोड रुपियाँ राशीसहित इसा पुरस्कार प्रदान गरेको थियो।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणकारी कार्यको सम्मान गर्दै लागि डा. रुइतलाई इसा अवार्ड प्रदान गरिएको जनाएको थियो।

तिलगंगा आँखा अस्पतालका संस्थापक डा रुइतले संसारका विभिन्न देशमा दशौँ हजार आँखाका बिरामीहरुको शल्यक्रिया गरी उनीहरु लाई दृष्टि प्रदान गरेका छन्। मोतियाबिन्दुको उपचार गर्न उनले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारमै प्रसिद्ध छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij