काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा १८ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको जानकारी दिएको हो ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर पुसमसान्तसम्म आइपुग्दा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा पुस मसान्तमा १८.९ प्रतिशतले बढेर .१६ खर्ब २३ करोड पुगेको छ।
त्यस्तै चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गतवर्षको सोही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको हो ।
यो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ। ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ । गतवर्षको ६ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij