२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

आज धान दिवस तथा रोपाइँ महोत्सव

आज धान दिवस तथा रोपाइँ महोत्सव

काठमाडौं– आज (शुक्रबार) असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस। असार १५ गतेका दिन देशभर धान दिवस तथा रोपाइँ जात्रा आदि नामले मनाइन्छ।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। किसानहरु असारे भाकामा गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्छन्।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन्।

नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ, गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाउन थालेको हो।

नेपालमा कृषियोग्य जमिनको करिब ४७ प्रतिशत जमिनमा धानखेती गर्ने गरिएको सरकारी तथ्याङ्क छ। अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत हिस्सा धानको छ। यद्यपि धान खेती हुने जमिनमध्ये २१ प्रतिशतमा मात्रै सिँचाइको सुविधा छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij